धादिङ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले ओली नेतृत्वको सरकारले दुईबुँदे सहमति अनुरूप संविधान संशोधनको सन्दर्भमा कुनै कदम नचालेको तथा एकल सरकार जस्तो गरी एकलौटी ढङ्गले सरकार चलाएकोमा कडा आलोचना गरेका छन् ।
उनले यो कुरा ससफो धादिङ जिल्ला तदर्थ समिति गठनका लागि बिहिबार धुनीबेसीमा भएका धादिङ जिल्ला भेलामा बताएको हो ।
पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले भने,‘ससफो नेपाल सरकारमा सामेल भएको ८ महिना बिति सक्दा पनि संविधान संशोधनका लागि कुनै कदम नचालेको मात्र होइन, संयुक्त सरकारको कुनै आभास समेत भएन ।
राजदूत तथा संवैधानिक आयोगका प्रमुखहरूको नियुक्तिमा आफ्नो पार्टी र पार्टीभित्र पनि आफ्नो गुटलाई समर्थन गर्ने व्यक्तिहरूलाई मात्र नियुक्ति गरेर संवैधानिक अंगहरूलाई पनि पार्टीकरण र गुटकरण गरेका छन् ।
सांसद श्रेष्ठले विगतमा राज्यले जिम्मेवारी दिंदा संविधान बमोजिम स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र लगायतको विशेष संरचनाहरूको सिफारिस नै नगरी स्थानीय तहको मात्र सिफारिस गरी अधुरो र अपूरो प्रतिवेदन बुझाउने व्यक्तिलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रमुखमा सिफारिस गरेकोमा आक्रोश पोख्दै भने, यस्तो कार्य क्षमता देखाउन नसकेका व्यक्तिहरूलाई नै पटक पटक अवसर किन ? उनले आफ्नो पार्टीले संविधान संशोधन लगायतका विषयहरूमा भएको सहमती यथासिघ्र कार्यान्वयन गर्न स्मरण पत्र दिइसकेको बताउँदै भने, ‘अब हामीले यसका लागि लामो समय कुर्न सक्दैनौँ, प्रधानमन्त्रीमा एक्लै हिंड्ने प्रवृत्ति जारी रहे नेकपासँगको सहकार्य टुट्न सक्छ ।

