शनिबार, बैशाख ०८, २०८१

प्रचण्ड गन्तव्यमा पुग्न नसकेको डा.बाबुराम भट्टराईको टिप्पणी

जाजरकोट । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रचण्ड र आफू एउटै गाडीमा यात्रा गरेको तर प्रचण्ड गन्तव्यमा पुग्न नसकेर अर्कै गाडीमा चढेको,आफू मात्रै गन्तव्यमा पुगेको दाबी गरेका छन ।
प्रचण्डसँगको सम्बन्ध बारे सोधिएको प्रश्नमा उहाँले प्रचण्ड र आफू एउटै गाडीमा यात्रा गरेको र प्रचण्ड गन्तव्यमा पुग्न नसकेर अर्कै गाडीमा चढेको, आफू मात्रै गन्तव्यमा पुगेको टिप्पणी गरेका हुन ।
“काठमाण्डौ जान हिँडेका हामी सहयात्री फरक–फरक गन्तव्यमा झर्ने निर्णय गरी कोही सल्लीबजार, कोही छिञ्चु, कोही कोहलपुर र अध्यक्ष प्रचण्ड लमहीमा झर्नुभयो । मेरो नेतृत्वको टोलीले काठमाण्डौ पुगेर नयाँ गन्तव्यका लागि यात्रा तय गर्यो । त्यसैले आज तपाईँहरुसँग जाजरकोट दरबार क्षेत्रमा भेट भयो ।”, भट्टराई भन्छन्,”चुरे पुग्ने गन्तव्यमा सँगसँगै हिँडेका तत्कालीन नेकपा माओवादीका अध्यक्ष मेरा असल मित्र प्रचण्ड चुरेको सेरोफेरोमा नै थकाइ मार्ने र रम्ने गर्न थाल्नु भयो । हामी हिमाल चढ्ने उद्धेश्यका साथ नयाँ अभियानमा लागेका छौँ, फरक यति हो ।
बिहीबार जाजरकोटको खलंगा पुगेका भट्टराईले पत्रकारहरुसँग संवाद गर्ने क्रममा वर्तमान सरकारले देशको समृद्धि र काँचुली फेर्न ५० वर्ष लगाउने बताए। “वर्तमान सरकारले देशको समृद्धि र काँचुली फेर्न ५० वर्ष लाग्छ,हामीले अवलम्वन गरेको यात्राबाट दस वर्षभित्र देश र नागरिकको रुपान्तरण गर्न सकिन्छ”, दाबी गर्दै उनले भने।
महत्वपूर्ण संवैधानिक निकाय न्यायालय तथा अख्तियार भ्रष्टाचारको अखडा बन्दै गएको र दुई तिहाइको कम्युनिष्टको सरकार हुँदा देशमा चरम व्यापार घाटा बढेको र लगानी घटेको भन्दै भट्टराईले आक्रोश समेत पोखेका छन्।