बिहिबार, बैशाख १७, २०८३

जनताको हितभन्दा बाहिर गएर काम नगर्न प्रधानमन्त्री ओलीको आग्रह

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सुदूरपश्चिम भ्रमण विभिन्न आयोजनाहरुको उद्घाटन र शिलान्यास मात्रै सीमति भएन, पार्टीभित्रको गुटबन्दी व्यवस्थापनसम्मका प्रयासहरु भए । प्रधानमन्त्रीको बास सेनाको ब्यारेकमा भयो ।

मंगलबार श्री एयरलाइन्सको जहाजबाट धनगढी अवतरण गरेका प्रधानमन्त्री ओली त्यहाँबाट सेनाको हेलिकप्टर चढेर कैलाली र डोटीलाई जोड्ने सहजपुर–बोगटान सडक खण्डको शिलान्यास गर्न पुगे । यो सडक २९ वर्षअघि नै शिलान्यास गरिएको थियो ।

सडक शिलान्यास गरिसकेपछि प्रधानमन्त्री ओली दलबलसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउकाको गृहजिल्ला डडेल्धुरातिर लागे ।

डडेलधुरा पुगेर प्रधानमन्त्री ओलीले विद्युत सब स्टेशनको उद्घाटन गरे । उनले सामान्य खालको कार्यक्रम उदघाटनका लागि देउवाको गृहजिल्लामा पुगेर सुदूरपश्चिमको विकासमा नेपाली कांग्रेसको होइन, अब नेकपाको भूमिका रहनेछ भन्ने सन्देश दिन खोजेको नेकपाका स्थानीय नेताहरुको विश्लेषण छ ।

डडेलधुराको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली मंगलबार साँझ नेपाली सेनाको ५ नम्बर बाहिनी तेघरीमा बास बसे । प्रधानमन्त्री ओलीले ब्यारेकभित्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुसँग छलफल गरे ।

छलफलका क्रममा प्रधानमन्त्रीले आफ्नो काममा दत्तचित्त भएर लाग्न र जनताको मन जित्न निर्देशन दिएको मन्त्रीहरुको भनाइ छ । सो क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुलाई जनताको हितभन्दा बाहिर गएर काम गरेको भन्ने गुनासा आएकाले सच्चिन आग्रह गरेका थिए । त्यसो नगरे मन्त्री पद धरापमा पर्ने प्रधानमन्त्रीले संकेत गरेको नेकपाका एक नेताले बताए ।