महिलाहरुले आफ्नो मनाेबल उच्च पार्नुपर्ने समय आएको छ : मन्त्री बिना मगर

सिन्धुपाल्चोक । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले संविधान बदलिए पनि सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन बदलिन जरुरी भएकाे बताएकी छिन्।

आइतवार चाैतारा सांगाचाेकगढी नगरपालिकाले आयोजना गरेकाे महिला जनप्रतिनिधि र सामाजिक अगुवाहरुकाे क्षमता अभिवृद्धि सम्बन्धि गाेष्ठीमा बाेल्दै उनले भनिन्, ‘हामीले संविधान बदल्याैं। तर, संस्कार बदल्न बाँकी नै छ। संविधानमा लेखेर मात्र संस्कार बदलिन सक्दैन, त्यसका लागि सङ्घर्ष जरुरी छ।

कार्यक्रममा उनले भनिन्, ‘हाम्राे समाज अहिले पनि सामन्तवादी चिन्तनकै वरिपरि छौं। तर, त्यसलाई चिर्नु हाम्रै दायित्व हाे। संविधानले हामीलाई धेरै अधिकार दिएकाे छ। तर, चिन्तन बदलिएकाे छैन। हामीले चिन्तन बदल्नुपर्छ। चिन्तन बदलेर मात्र संवैधानिक व्यवस्थालाई व्यवहारमा लागू गर्न सकिन्छ।

उनले थपिन्, ‘याे उपलब्धि यत्तिकै आएको हाेइन। हामीले सङ्घर्ष गरेर ल्याएका हाैं। बिना त्याग अधिकार आँदैन। अहिले पनि महिला र पुरुषबीच अन्तर छ। संविधानले समान अधिकार दिए पनि व्यवहारमा त्यसकाे प्रयाेग हुन कठिन भइरहेकाे छ, यसमा सामाजिक संस्कार र परिवेश पनि जिम्मेवार छ।
महिलाहरुले आफ्नो मनाेबल उच्च पार्नुपर्ने उनले बताइन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: