पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीले सपथ ग्रहण गरेको एक वर्ष भएको अवसरमा ‘वार रुम’ उद्घाटन गर्ने भएका छन्। दोस्रो विश्व युद्धताका निर्माण भएको बेलायती प्रधानमन्त्री विन्स्टिन चर्चीलको ‘वार रुम’ अहिले पनि उत्तिकै चर्चामा छ। सोही शैलीमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि वार रुम निर्माणको तयारी पूरा गरेको हो।
मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ ग्रहण गरेको आगामी फागुन ४ गते एक वर्ष हुँदैछ। सोही अवसरमा ‘वार रुम’ सुरु गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए। ‘नीति तथा कार्यक्रमअनुसार नै वार रुम बनेको हो,’ उनले भने, ‘मुख्यमन्त्री ज्यूले सपथ खाएको दिनलाई हाम्रो सरकारले प्रदेश सरकारको एक वर्षको रूपमा मनाउने भएको छ। यहि अवसरमा वार रुमको पनि सुरुवात हुन्छ। वार रुममा विभिन्न प्रविधिको प्रयोग गरेर गण्डकी प्रदेशको ११ वटै जिल्लाको अनुगमन गर्ने सुविधा तयार हुन्छ।’ विन्स्टन चर्चीलले बनाएको जस्तै ‘वार रुम’ बन्ने गण्डकी प्रदेश सरकारले जनाएको छ ।
‘वार रुमबाट पहिले युद्ध कसरी लड्ने, कहाँ सेना खटाउने तयारी र अनुगमनको काम हुन्थ्यो,’ उनले भने ‘अब प्रदेशमा भइरहेको विकास निर्माणका स्थिति, भूकम्पपीडित, बाढी पहिरोपीडितको अवस्थालगायत विकास निर्माण र शान्ति सुरक्षाको अनुगमन हुन्छ।’ विकास निर्माणको काम लथालिंग भएपछि मुख्यमन्त्रीले चिन्ता ब्यक्त गर्दै यसको कल्पना गरेको उनले बताए।
उक्त वार रुम निर्माण पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यालयबाटै प्रादेशिक तथा राष्ट्रिय गौरवको आयोजनाहरूको अनुगमन गर्न सक्नेछन्। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले प्रदेशबाट सञ्चालन हुने ठूला आयोजनाहरूलाई अनुगमन गर्न, निर्देशन दिनका लागि वार रुमको परिकल्पना गरिएको बताए ।

