ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको आज एक वर्ष पूरा भएको छ । ओली संविधान जारी भएयता एक वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री बन्न सफल हुनु भएको छ ।
संविधान जारी हुनुअघि तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले साढे एक वर्षभन्दा बढी समय सरकार सञ्चालन गरे पनि अरु सरकार लामो समय टिक्न सकेका थिएनन् । तत्कालीन माओवादी केन्द्रको समेत समर्थनमा ओलीलाई २०७४ साल फागुन३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको थियो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठनपछि ओली नेतृत्वको सरकार बनेको हो । सरकारको एक वर्षकाबारेमा बिभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षको उपलब्धि निरासाजनक रहेको टिप्पणी गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कामभन्दा पनि सरकारले कुरा गरेर मात्र समय बिताएको उल्लेख गर्दै आशा गरेजस्तो उपलब्धि हासिल नभएको बताउनुभयो ।
सरकारले भने आफ्नो काम गर्ने समय बल्ल सुरु भएको टिप्पणी गरेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारको लागि एक वर्ष मिर्मिरे बिहानी मात्र भएको बताउनुभयो ।
पार्टीको घोषणापत्रमा लेखिएका विषय कार्यान्वयनको चरणमा प्रवेश गरेको र संविधान, सङ्घीयता कार्यान्वयन प्रक्रियामा गइसकेकाले अबको चार वर्षमा पूर्ण रूपमा सरकार सफल हुने मन्त्री बास्कोटाको दावी छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । आफ्नो सम्वोधनमा ओलीले सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्नुका साथै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने तयारी गर्नु भएको छ।
