सुर्खेत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सुझाव दिनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुगे पनि नीति तथा कार्यक्रम र बजेट आएको छ महीना मात्रै भएकोले यस अवधिमा सरकारले थुप्रै राम्रा काम गरे पनि स्थान नपाएको तथ्य औल्याउनु भयो ।
सरकारले अघि बढाएको सामाजिक सुरक्षा योजनाको दायरामा सञ्चारगृह पनि आउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई कमजोर नदेख्न आग्रह गर्दै उहाँले चार वर्षपछि चुनावमा जानुपर्छ भनेरै कानून बनाउने र काम गर्ने प्रष्ट पार्नुभयो । “२२ वर्ष प्रतिपक्षमा बसेको अनुभव छ”, काङ्गे्रसप्रति लक्ष्यित गर्दै उहाँले भन्नुभयो”, ‘प्रतिपक्षमा छ महीना बसेकै यति उकुसमुकुस, सरकार आवधिक हो तर डेमोक्रेसी आवधिक होइन, डेमोक्रेसी हामीले पनि लडेर ल्याएको हो, त्यसैले प्रदूषणको राजनीति गर्ने नगरौँ ।
उहाँले छिट्टै फेसबुकलगायत सामाजिक सञ्जालको दर्तासमेत नेपालमै गर्न सकिने व्यवस्था हुन लागेको र नेपालको आफ्नै स्याटलाइट (भूउपग्रह) सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो । केही महीनापछि स्याटालाइट सञ्चालनसम्बन्धी सम्झौता हुने उहाँको भनाइ थियो । मिडिया अझै स्वतन्त्र र निष्पक्ष बन्न नसकेको बताउँदै मन्त्री बाँस्कोटाले मिडियालाई प्रतिपक्षी नभई आलोचक बन्न सुझाव दिनुभयो ।
“यदि कुनै मिडियाको मिशन छ भने स्पष्ट भन्न सक्नुपर्छ, होइन भने सरकारले गरेका राम्रा कामका विरुद्ध पनि किन पूर्वाग्रह ? ” उहाँले भन्नुभयो, “सरकारको त स्पष्ट मिशन छ शान्ति, लोकतन्त्र, सामाजिक न्याय, विकास र आर्थिक समृद्धि, तर पूर्वाग्रह पालेर लेख्ने मिडियाको मिशन के हो ? जनतालाई स्पष्ट पार्नुपर्छ । लहैलहैमा लागेर जनताको सपनामाथि तुषारापात गर्ने काम कसैले नगरौँ ।” उहाँले कतिपय मिडियाले पार्टी फुटाउने प्रयत्नसमेत गरेको आरोप लगाउनु भयो ।
उहाँले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न लागेर सरकारले कुनै गल्ती नगरेको बताउनुभयो । सरकारले मिडिया सञ्चालकको मात्र नभई त्यहाँ कार्यरत पत्रकार÷कामदारको पनि कुरा सुन्ने बताउँदै उहाँले भन्नुभयो, “यसमा सरकारले कुनै गल्ती गरेको छैन र ब्याक हुनुपर्ने कुरै छैन ।
मन्त्री बाँस्कोटाले मूलधारको पत्रकारिताका चार विधा समेटेर एउटै छाता ऐन ल्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । उहाँले सरकारले प्रेसमैत्री कानून बनाउनेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।

