बिहिबार, बैशाख १७, २०८३

विदेशको दुख सम्झेर कृषिमा यसरी जम्दै छन् युवा

बलेवा । एक वर्ष पहिले मलेशियाबाट फर्किनुभएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिनुहुन्छ ।

विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोजिरहनुभएको छ । तीन वर्ष बहराइनको होटलमा काम गर्दाका दुःख र दुई वर्ष मलेशियाको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्दाका दुःख अहिले पनि उहाँको मानसपटलबाट बाहिरिएको छैन । सानोतिनो किराना पसल गरेर गाउँमै बस्नुभएका बुढा धेरै सम्पत्ति कमाउने र उज्यालो भविष्यको सपना देखेर खाडी मुलुकदेखि मलेशियासम्म पुग्नुभयोे तर त्यहाँको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले सुखको सास फेर्न सकिने देखेर उहाँ मलेशियाको दुई वर्ष बिताएर नेपाल फर्किनुभयो ।

झिँवाखोलाकै विमल शाही एक वर्ष पहिला दुबईबाट फर्कनुभएको हो । राम्रो कमाइ हुने आशामा दुबई पुग्नुभएका शाही एक वर्षमै गाउँ फर्केर बुढासँगै सामूहिक तरकारी खेतीमा लाग्नुभएको छ । विदेशमा धेरै दुःख भोगेका शाही र बुढाले गाउँमा फर्केर सरसल्लाह गरी गाउँमा नै केही उद्यम गर्ने सोच बनाउनुभयो । बजारको राम्रो व्यवस्था रहेको र माटोमा गरेको मेहनतले प्रतिफल दिने देखेर उहाँहरूले तरकारी खेती गर्ने सोच्नुभयो ।

उहाँहरूले बनाएको योजनालाई झिँवाखोलाकै अर्का युवा श्यामबहादुर शाहीले साथ दिनुभएको छ । विदेशमा गएर दुःख गरेको अनुभव नभए पनि श्यामले विदेशका दुःखको विषयमा सुन्नुभएको छ । त्यसैले उहाँहरू सबै मिलेर अहिले झिँवाखोलामा सामूहिक तरकारी खेती गरिरहनुभएको छ ।

पछिल्लो समय विदेश पलायन हुने युवाको घुइँचो देखिन्छ । कतिपय युवा विदेशमा गएर कमाइ गरिरहेका छन् भने कतिपय युवा हण्डर खाएर स्वदेश फर्किएका छन् । विदेशमा गरेको दुःख सम्झेर देशकै माटोमा भविष्य खोज्ने पनि छन् । त्यस्तै भविष्यको खोजीमा रहेका छन् झिँवाखोलाका तीन युवा । स्थानीयस्तरमा नै तरकारीको बजार रहेकाले सुविधा पनि हुने र कृषिमा आत्मनिर्भर बन्ने आफूहरूको चाहना पनि पूरा हुने भएकाले सामूहिक तरकारी खेतीमा लागेको बुढाले बताउनुभयो ।

उहाँहरूले निसीखोला कृषि फार्म दर्ता गरेर व्यवसाय शुरु गरेको एक वर्ष भयो । अहिले उहाँहरूले तरकारी बारीमा सबैखाले तरकारी उत्पादन गर्नुभएको छ । शुरुमा रु चार लाख लगानी गरेर स्थानीयको केही जमीन भाडामा र केही जमीन आफ्नै प्रयोग गरेका उहाँहरूले लगानी बढाउने योजना बनाउनुभएको छ । “तरकारीको उत्पादनले राम्रै उत्पादन हुने देखिएको छ, लगानी बढाएर मौसम र बेमौसमका तरकारी उत्पादन गर्दैछौँ”, बुढाले भन्नुभयो ।

तरकारीसँगै उहाँहरूले गाउँलेका लागि तरकारीका बिरुवा उत्पादनसमेत गर्दै आउनुभएको छ । गाउँमा आवश्यक बिरुवा आफ्नै फार्ममा उत्पादन गरेर गाउँलाई बिरुवामा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बुढाले बताउनुभयो ।