सिराहा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।
सोमबार सिरहामा निर्मित स्वास्थ्यचौकीको उदघाटन गर्दै प्रचण्डले भने- ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’
पूर्वप्रधानमन्त्री एवं सिरहाका पूर्व जनप्रतिनिधिसमेत रहेका प्रचण्डले भने, ‘अहिले भर्खरै उदघाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु । डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ ।
प्रचण्डले मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको बताएका छन् । प्रचण्डले नेकपाको सरकारले मधेसको विधासमा ध्यान दिँदैन कि भनेर शंका नगर्न सिराहाबासीसमक्ष आग्रह गरे ।
‘नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ प्रचण्डले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
सिँचाई र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ थियो ।

