शुक्रबार, बैशाख ०७, २०८१

नेविसंघको अध्यक्ष नैनसिंह महराले पदबाट दिए राजीनामा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्ष पदबाट सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए
११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर, आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।
थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो ।