काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । भोलि देशभरका सरस्वती मन्दिरमा पूजा आराध ना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवी का रूपमा आराधना गर्छन् ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।
गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ।
काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरहरुमा पुजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लाग्ने गर्दछ ।

