बिहिबार, बैशाख १७, २०८३

मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य : नेता नेपाल

बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा आज सम्पन्न आधारशिला (पहिलेको नेकपा चौथो महाधिवेशनमा आबद्ध नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा बोल्दै वरिष्ठ नेता नेपालले कृषिमा नयाँ प्रविधिको विकासले मात्र मुलुकको समृद्धि अभियानको नेतृत्व गर्नसक्ने बताउनुभयो ।

“सम्भावनाको धेरै क्षेत्रबाट खोजी गर्न सकिन्छ, कृषिबाट खोज्ने समृद्धि वैज्ञानिक र व्यवहारिक हुन्छ,एवं पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्न्भयो । किसानले समयमा बीउ र मल पाउने, उत्पादित वस्तुको उचित मूल्यसहितको बजारको ग्यारेण्टी र पछिल्ला प्रविधिमा किसानको पहुँच नभएसम्म समृद्धि अभियानले गति लिन नसक्ने नेता नेपालको भनाइ थियो ।
उहाँले दक्ष जनशक्ति बढाएर मुलुकभित्रै आफ्नो सीप र दक्षता उपयोग गर्नसक्ने अवसर पछिल्लो पुस्ताले पाउन सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउन सक्ने बताउनुभयो ।
समारोहमा आधारशिलाका संस्थापकमध्येकै नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘सबैका लागि शिक्षाको अवसर’का लागि वर्तमान सरकार लागि परेको बताउनुभयो ।

आधारशिला २०५९ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा आबद्ध १५ परिवारका नेता तथा कार्यकर्ताले स्थापना गरेको कम्युन हो ।