बिहिबार, बैशाख ०६, २०८१

पार्टी एकताको काम फागुनको पहिलो साताभित्र टुङ्गो लाग्छ : प्रचण्ड

चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताएका छन् ।

मंगलवार सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको समेत दाबी गरे । उनले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाउँदै सर्तक रहनुपर्नेमा जोड दिए ।

गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद अग्नि सापकोटा, नेकपाका जिल्ला नेता तथा कार्यकता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।