काठमाडौं । तामाङ जातिले मनाउने मौलिक पर्व आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ ।
यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।
चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षलाई स्वागत गरेका छन् । यो २८५५ औं सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।
आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।
ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीता रहने छ । टुँडिखेलमा ल्होछार मूल समारोह समितिका संयोजक नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।
ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र बिभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।

