बिहिबार, बैशाख ०६, २०८१

एक वर्षमा प्रदेशसभाले ठूलो उपलब्धि हासिल : मुख्यमन्त्री राउत

जनकपरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता सुरु भएको एक वर्षमा प्रदेशसभाले ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।

प्रदेशसभाको प्रथम वार्षिकोत्वसलाई संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सत्ताधारी दल, प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको प्रजातान्त्रिक शैलीलाई प्रशंसा गर्दै एक वर्षको अवधि उपलब्धिमुलक रहेको दावी गरेका हुन् ।

प्रतिपक्षी दलको भूमिकाको प्रशंसा गर्दै उनले संघीयताको अभ्यासमा सहयोग, र समृद्धिको संस्कृति विकास गर्न समेत प्रतिपक्षी र प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे। मुख्यमन्त्री राउतले भने, ‘काम गर्ने शिलशिलामा एकले अर्कालाई सहयोग नगरे विकास र समृद्धि अघि बढ्न सक्दैन, त्यसैले सत्ता र प्रतिपक्षले विकासको मिशनमा उदाहरण प्रस्तुत गर्न आग्रह गर्दछु। आगामी दिनमा प्रदेशसभामा थप आत्मियता, विश्वास र सहयोग आवश्यकता छ ।

भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनारले प्रदेशसभाबाट केही असहमति बाहेक १६ वटा विधेयक पास भएको र आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्दै प्रदेश समृद्धिका निमित्त सत्ता र प्रतिपक्षको सहकार्यमा जोड दिए ।

नेकपाका नेता सत्यनारायण मण्डलले सभामुखप्रति रोष प्रकट गर्दै भने, ‘प्रदेशसभाले मेरो पटक पटक मान मर्दन गर्दै आएको छ, सरकारले बिभिन्न आयोगहरु गठन ग¥यो तर प्रतिपक्षीलाई एक पटक सोध्न पनि आवश्यक ठानेन, यो कस्तो संस्कार हो ?
यसैगरी, प्रदेश २ नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘बच्चा जन्मेपछि ६ दिनमा नाम टुङ्गिन्छ तर यहाँ एक वर्ष भईसक्यो, नाम र राजधानी तोकिएको छैन। अर्को वर्ष यही सुन्न नपरोस्।’ उनले प्रजातान्त्रिक शैलीमा प्रदेश २ को संसद सञ्चालन भएको दाबी गर्दै संघीय संसद जस्तो अमर्यादित नहोस् भन्ने कामना गरे ।

सोमबारको बैठकमा भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनालले ‘प्रादेशिक विद्युत सम्बन्धी विधेयक, २०७५ दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेश गरेका थिए ।