शनिबार, बैशाख ०८, २०८१

गण्डकी प्रदेश सरकारको खर्च मापदण्ड कार्यविधि पारित

पोखरा । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको खर्च मापदण्ड कार्यविधि पारित गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पारित गरेको कार्यविधिले मुख्यमन्त्री पोखराबाहिर जाँदा बढीमा ४ जनामात्रै जान पाउने व्यवस्था गरेको छ ।

‘मुख्यमन्त्री पोखराबाहिर जाँदा ४ जनामात्रै साथमा लैजान पाइने भएको छ,’ भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘बढी लगेमा अरुले भत्ता पाउने छैनन् ।

कार्यविधि अनुसार तोकिएका संख्यामा सुरक्षा गार्ड र स्वकीय सचिव समेत पर्नेछ । मन्त्रीहरुको हकमा पोखराबाहिर जाँदा ३ जनामात्रै लैजान पाउने छन् । मन्त्रीले समेत बढी लगेको खण्डमा भत्ता नपाउने निर्णय भएको प्रवक्ता बस्नेतले सुनाए ।

मुख्यमन्त्री काठमाडौं जाँदा आफूसँग २ जनामात्रै लैजान पाउने भएका छन् । प्रवक्ता बस्नेतले सरकारले कुनै पनि तालिम, गोष्ठी र सेमिनार गर्दा प्रति सहभागी २५ सय रुपैयाँभन्दा बढी खर्च नगर्ने बैठकले निर्णय गरेको जानकारी दिए । उनले भने, ‘यो कार्यविधिको मापदण्ड अनुसार स्टेस्नरी सामाग्रीमा प्रतिव्यक्ति १ सय रुपैयाँ बढी दिइन नपाइने प्रावधान छ ।’

बैठकले प्रदेश विकास स्वयं सेवक कार्यविधि समेत पारित गरेको छ । कार्यविधि अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा दरबन्दी स्वीकृत गर्ने छ । प्रवक्ता बस्नेतले भने, ‘गण्डकी प्रदेशका सबै जिल्लामा स्वयंसेवकका लागि १ सय ३६ जनाको दरबन्दी स्वीकृत गर्ने ३९ औं बैठकले निर्णय गरेको छ ।