काठमाडौं । सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत शेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो। नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको ९२ प्रतिशत शेयरमध्येबाट २६ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने योजना अघि सारेको हो।
मन्त्री बास्कोटाले शेयर बाँडफाँडको विधिका विषयमा पनि छलफल भइरहेको बताए। सबै प्रदेश, कर्पोरेट हाउस, ठूला उद्यमीहरूलाई पनि समानुपातिक ढंगले वितरण हुने गरी सो शेयर बाँडफाँड गर्ने मन्त्री बास्कोटाको योजना छ। नेपाल टेलिकममा हाल ९२ प्रतिशत शेयर सरकारको रहेको छ बाँकी ८ प्रतिशत शेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ। मन्त्री बास्कोटाले अब ६६ प्रतिशत शेयर मात्रै सरकारले राखेर बाँकी २६ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने बताए।
मन्त्री बाँस्कोटाले मुनाफा बाहिर जाने भएकाले नेपाल टेलिकमलाई अघि बढाउन रणनीतिक साझेदार खोजी नगर्ने निर्णय लिइएको पनि स्पष्ट पारे। रणनीतिक साझेदारले आफूले पाएको मुनाफा आफ्नै देशमा लैजाने भएकाले आफूहरुले रणनीतिक साझेदार ल्याउन नचाहेको मन्त्री बास्कोटाको भनाई छ। उनले नेपाल टेलिकमले प्रगति गरिरहेको र त्यसमा जनताको अपनत्व अनुभूति गराउन पनि आफूहरुले सर्वसाधारणको लागि उल्लेख्य शेयर जारी गर्ने तयारी गरेको पनि स्मरण गराए।

