काठमाडौं । सरकारले डा.गोविन्द केसीको अनसन तोडाउने जिम्मा उहाँलाई ‘बोक्ने’हरूकै भएको बताएको छ ।
राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले डा. केसीको माग सम्बोधन भइसकेको दाबी गर्दै अझ एक चरण अगाडि बढेर सरकारले माग सम्बोधन गरिसकेको टिप्पणी गर्नुभयो ।
संसदको दुबै सदनले पास गरेपछि पनि अनसनको औचित्य समाप्त भएको उहाँको दाबी छ ।माग पूरा भएको खुसीयालीमा अनसन छोड्ने, उक्साउनेले पनि त्यो काम छाड्नुपर्ने उहाँको दाबी छ ।
अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि काँग्रेसले संसद अवरोध गरेको भन्दै उहाँले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने तर्क गर्नुभयो ।

