शुक्रबार, बैशाख १८, २०८३

शान्तिप्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टुंगिने प्रक्रियामा रहेको नेपालको शान्तिप्रक्रिया बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् । १८ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको कार्यक्रममा प्रधानमन्त्रीले शान्तिप्रक्रियामा अवरोध नगर्न चेतावनी दिएका हुन् ।

नेपालको संक्रमणकालीन न्यायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भइरहेका बेला प्रधानमन्त्रीले कडा प्रतिक्रिया दिएका हुन्। गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राष्ट्रसंघसम्म लगिएको तथा द्वन्द्वकालीन मुद्दाकै विषयलाई लिएर प्रा.डा. गोविन्द केसी २१ दिनदेखि अनशनमा बसिरहेको पृष्ठभूमिमा प्रम ओली सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर यस विषयमा बोलेका हुन्।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि आन्दोलित गंगामायाले सरकारबाट डेढ करोड रुपैयाँ राहत बुझेपछि उनलाई न्यायका लागि भन्दै केही कानुनव्यवसायीले राष्ट्रसंघसम्म लगेपछि चलेको विवादबीच सरकार आक्रोशित भएको हो।

‘मुलुकको शान्ति प्रक्रिया टुंगिने अवस्थामा पुगिसकेको छ, यसमा अवरोध गर्नु उपयुक्त हुँदैन’, १८ औं सशस्त्र प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘विगतको एउटा द्वन्द्वरत पक्ष शान्तिपूर्ण राजनीतिमा आइसकेको छ। शान्ति प्रक्रियाका अधिकांश काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा विगतका घाउलाई कोट्याइनु उपयुक्त हुन सक्दैन।’

तत्कालीन राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनसहितले नेपालको संक्रमणकालीन न्यायको प्रक्रियालाई बिथोल्ने प्रयासस्वरुप चलखेल सुरु गरेको भन्दै यसअघि नै सरकारले कडा धारणा सार्वजनिक गरिसकेको थियो। अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्तिप्रक्रिया बिथोल्न खोजेको भन्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आपत्ति जनाएका थिए।
एक साताअघि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले संक्रमणकालीन न्याय प्रक्रियालाई सबै सरोकारवालाको अधिकतम सहमतिमा टुंगो लगाउन नेपालले आफ्नै मोडल स्थापित गरेको बताएका थिए। ‘शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन नेपाल आफैं सक्षम छ’, उनले भनेका थिए, ‘अन्तर्राष्ट्रिय समुदायले यसमा हामीलाई सम्झाउन आवश्यक छैन।’

बास्कोटाको यो धारणापछि मंगलबार प्रधानमन्त्रीले टुंगोमा पुगिसकेको नेपालको शान्तिप्रक्रियालाई बिथोल्ने र हिजोका घाउ बल्झाउने कोसिस नगर्न चेतावनी दिएका हुन्। ‘हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भइरहेका छन्। हामी अनावश्यक द्वन्द्वमा फस्नु हुँदैन’, प्रम ओलीले भने, ‘हिजोका क्षति सम्झाएर थप क्षति गर्नेतिर लाग्नु हुँदैन। यस्ता तत्वको पहिचान गरेर तिनलाई निस्तेज पार्नुपर्छ। अब सबै नेपालीको साझा आकांक्षा शान्ति हो।’

हिजोका द्वन्द्वका घाउ निरुपणका लागि नेपालमा सत्य निरुपण र बेपत्ता खोजबिन आयोग क्रियाशील रहेकै बेला देशीविदेशी शक्तिहरू द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सक्रिय रहेको निचोड सरकारको छ।

‘विभिन्न आवरणमा शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेबारे सरकार जानकार रहेको छ’, ओलीले भने, ‘हामी राजनीतिको कठोर यात्रा पार गरेर यहाँसम्म आइपुगेका छौं। अब पछाडि फर्कने कुरा हुन सक्दैन। प्रम ओलीले निरुपण हुने क्रममा रहेका विषय उचालेर देशलाई पछाडि फर्काउने खेल भइरहेको पनि आशंका गरे। ‘देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले व्यवस्थापन भइसकेको शान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सैह्य हुँदैन।’

प्रधानमन्त्री ओलीले देशमा सुशासन र समृद्धि ल्याउन हर तरहले प्रयत्नशील रहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा भ्रष्टाचार कुनै हालतमा नसहने पनि बताए। सरकारले शुन्य भ्रष्टाचारको नीति अवलम्बन गरेको उनले दोहोर्‍याए। प्रमले भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगलाई चनाखो हुन आग्रह गरे।