वारा । वारामा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको निधन भएको छ । बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) पोखरेलको निधन भएको हो । दुर्घटनामा परि प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भिर घाईते भएका छन् ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक कलैयामा हाईवेमा रोकिराखेको ट्याक्टरसंग ठोक्किएर दुर्घटना भएको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।
दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरेल गाडीको अगाडीको सिटमा सवार थिए ।
दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

