काठमाडौं । यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ । घरेलु टोलीले नेपालमाथी ३ विकेटको रोमाञ्चक जित निकालेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य युएईले ३३ औं ओभरमा ७ विकेट गुमाउँदै भेटायो । आईसीसी ग्लोबल एकेडेमी मैदानमा कप्तान पारस खड्का र सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै यूएईको मध्यक्रमलाई ध्वस्त बनाएपछि नेपालले लो स्कोरिङ म्याचमा जित निकाल्ने तर्फ अग्रसर भएको देखिन्थ्यो । तर, आठौ विकेटका लागि अमिर हायात (२४) र इमरान हैदर(१८)ले ४४ रनको साझेदारी गरेपछि जित निकाल्न सफल भयो ।
युएईले सात विकेट ७३ रनमा गुमाएको थियो । उसको जितमा घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहात दिए । सोमपालले ३० रन बनाए भने आरिफले २५ रन बनाए ।
नेपालका कप्तान पारस खड्का २० रनमा आउट भएपछि नेपाल पूरै दबाबमा आएको थियो । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए । युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन(तीन विकेट लिए ।

