काठमाडौं । भारतको भुवनेश्वरमा फेब्रुअरी ७ देखि १७ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको घोषणा गरिएको छ । प्रशिक्षक हरि खड्काले शुक्रबार प्रशिक्षण क्याम्पमा रहेका ३३ खेलाडीबाट अन्तिम २३ खेलाडी घोषणा गरेका हुन् ।
निरु थापाको कप्तानीमा रहेको महिला टोलीको गोलरक्षकमा एन्जिला सुब्बा, अन्जना राना मगर र उषा नाथ छन् । रक्षकमा हिराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना र मन माया लिम्बु छन् ।
मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी छन् । स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् ।
भारत फुटबल संघले महिला साफ फुटबलको तयारीका लागि मैत्रीपूर्ण आमन्त्रण खेल आयोजना गरेको हो । यस प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलंका र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।
महिला साफको पाँचौं संस्करण विराटनगरमा मार्च १२ देखी २२ तारिखसम्म हुनेछ । साफ च्याम्पियनसिपको समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भूटान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

