बिहिबार, बैशाख १७, २०८३

जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु,बेहुलाबेहुली सकुशल

जनकपुरधाम । धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ७ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा शुक्रबार साँझ करेन्ट लागेको थियो ।

बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार ३ महिला, १ बालिका, १ बालक र एक जना पहिचान हुन बाँकी व्यक्ति गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको र र एक जनाको उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको प्रजिअ कँडेलले जानकारी दिए ।

घटनाबारे जानकारी पाएलगत्तै सेना, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई सशस्त्र, प्रहरी, एम्बुलेन्सकर्मीहरुले जनकपुर अञ्चल अस्पतालतर्फ लगिरहेका छन् । तर, घाइतेहरुको संख्या एकिन भइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कँडेलले जनकपुर अन्चल अस्पतालको आकस्मिक कक्षमा घाइतेहरुको उपचारका लागि सबै प्रवन्ध मिलाइएको जानकारी दिए ।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।