काठमाडौं । सांसद योगेश भट्टराईले संसदको वहुमत सदस्यले चिकित्सा शिक्षा विधेयक पारित गरेसँगै डा.गोविन्द केसीको ‘मोहडा’ मा राजनीति गर्नेहरुको दिन सकिएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा वैठकले चिकित्सा शिक्षा विधेयक विधेयक पारित गरेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सांसद भट्टराईले विधेयकमा अनसनरत डा. केसीका माग सबै समेटिएको दाबी गरेका छन् । उनले विधेयक पास भएसँगै संसद र डा.केसी दुवैको जीत भएको बताएका छन् ।
‘विधेयक पास गर्ने क्रममा केही तितामिठा कुरा भएका छन् । दुनियाँका संसदीय अभ्यासको परम्परामा यस्तो हुन्छ । हामी प्रतिपक्षीको विरोधलाई सम्मान गर्छौं । सदनले उहाँहरूको विरोध गर्न पाउने अधिकारलाई रक्षा गर्छ र नेकपाले त्यसलाई सहज रूपमा लिन्छ,’ भट्टराईले थपे, ‘आधा दशकदेखि छलफल भइरहेको चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को हो ।
उनले विधेयक पारित हुँदा डाक्टर केसीको शतप्रतिशत जीत भएको दावी गर्दै अब उनले जिन्दगीभर अनसन बस्नु नपर्ने बताएका छन् । योसँगै डाक्टर केसीलाई अगाडि सारेर राजनीति गर्नेहरुको पनि दिन सकिएको बताएका छन्।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो । डा.केसी पुस २५ गतेदेखि अनसनरत छन् । उनले इलामबाट १६ औं अनसन शुरु गरेका थिए ।

