काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहकी डाक्टर बबिता शाहको दुई वर्षीया छोरी अपहरणमा परेकी छन् । शुक्रबार बिहान कोटेश्वरको खरिबोटबाट सन्ध्या कर्णको अपहरण भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले केहीबेरअघि बालिकालाई सकुशल उद्दार गरेको छ भने अपहरणकारी भाग्न सफल भएका छन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आर्थिक लेनदेनका कारण जनकपुरका मनिषकुमार गुप्ताले बालिकाको अपहरण गरेका थिए ।
‘उनले साढे दुई लाख रुपैयाँ मागेका थिए’, बोगटीले भने, ‘हामीलाई सूचना आउने वित्तिकै खोजी थालेका थियौं । त्यसक्रममा अपहरणकारी गुप्ताले बालिकालाई जम्भुडाँडा, तिलगंगा हुँदै बसपार्क गएर भाग्दै फर्किंने क्रममा तिलगंगाको होटल गणेश अगाडिबाट बालिकालाई उद्दार गर्यौं ।’
अधिकारीहरुका अनुसार प्रहरीले उनले बालिकालाई राखेको ठाउँमा घेरा हालेपछि बालिकालाई छाडेर भागेका थिए ।

