शुक्रबार, बैशाख ०७, २०८१

चिकित्सा विधेयक प्रकरण : संसद बैठकमा मुठभेट हुनसक्ने थापाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेट हुनसक्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका चित्तबुझ्दो नभएको पनि गुनासो पोखे । ‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो’ उनले भने, ‘तर सभामुख पदमा आसिन भइसकेपछि दलमा उहाँको आवद्धता रहनुहुन्न । तर, दुःखका साथ भन्नुपर्छ सभामुखको भूमिकाबाट हामीले यो कुरालाई महसुस गर्न पाइरहेका छैनौं ।

साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे । ‘जुन विधेयक अनशनबाट डा. गोविन्द केसीसँग सम्झौता भइसकेपछि सदन चलेको बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो’ थापाले भने ।

नेकपाकै नेता र सांसदहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर घोषणा गरिरहेको भन्दै उनले कडा टिप्पणी गरे । ‘यहाँबाट फतवा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर, के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो ? पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ ?’ उनले भने, ‘संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दा बोलेका कुराहरु र उठाएका विषयले सदनको मानमर्दन भयो भनिएको छ। त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो ? पार्टीले हो ? सदन चलाउने सरकारले हो ? के सदन चलाउने सभामुखले हो ? सभामुखले भोलि यसो यसो गर्नुहुन्छ ? मैले आदेश दिईसकेँ । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिइन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त ? भन्ने प्रश्न उठ्छ ।

थापाले मुठभेट गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने स्पष्ट पारे । ‘त्यो दुर्भाग्यपूर्ण स्थिति नआओस भन्ने हामी अहिलेपनि चाहन्छौं’, उनले थपे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डाभोसको मञ्चमा म जनताको नोकर भएर बस्ने हो भनेर भनेको कुरा सकारात्मक भएको थापाले उल्लेख गरे ।