शुक्रबार, बैशाख १८, २०८३

मुख्यमन्त्री गुरुङ प्रदेशवासीको गुनासो सुन्न ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम आउने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवाग्राहीका गुनासा सुन्न ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्नु भएको छ ।
हरेक सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्थापित ‘हेलो मुख्यमन्त्री’ कार्यक्रममा मुख्यमन्त्री आफैं सेवाग्राहीका गुनासा सुन्न उपस्थित हुने जनाएके छ ।

गण्डकी प्रदेश सरकारले ४ भदौदेखि प्रदेशवासीको गुनासो सुन्न थालेको हो । सोमबार ‘हेलो मुख्यमन्त्री’मा सहभागी हुने मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशका जनताले टेलिफोन नम्बर १०९४ डायल गरेर गुनासा वा सुझाव टिपाउन सक्छन् ।


सोमबारको वार्तालाभ
लेकसाइडबाट एक व्यक्तिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सोमबार गरेको प्रश्न हो, यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्थापित ‘हेलो मुख्यमन्त्री’ कार्यक्रममा मुख्यमन्त्री आफैं सेवाग्राहीका गुनासा सुन्न उपस्थित थिए ।

गण्डकी प्रदेश सरकारले ४ भदौदेखि प्रदेशवासीको गुनासो सुन्न थालेको हो । सोमबार ‘हेलो मुख्यमन्त्री’मा सहभागी उनले गुनासोे राखे, ‘लेकसाइड क्षेत्रमा स्वदेशी पर्यटकप्रति राम्रो व्यवहार हुँदैन । विदेशीको लागि टयाक्सीदेखि होटलसम्म जाल थापेर बसेका हुन्छन् । प्रहरीले अपमानजनक व्यवहार गर्छन् । यस्तो अवस्था बदल्न के सोच्दै हुनुहुन्छ ?

लेकसाइड मात्र होइन पोखराका अधिकांश ठाउँमा शौचालयको अभाव छ । घरदेखि होटलले फेवाताल फोहोर पार्छन् । यो गुनासो मेयरदेखि मुख्यमन्त्रीसम्मले सुन्दै आएका छन् ।

मुख्यमन्त्री गुरुङले यस विषयमा पोखरा महानगरपालिकासँग छलफल गर्ने जवाफ दिएका छन् । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको बताउँदै गुरुयोजना बनाएर ‘एक्सन’मा जाने आश्वासन दिए ।

पर्यटकको स्वागत र सम्मान गर्न आफैं चेतनशील भएर संस्कार विकास हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए ।

भुस्याहा कुकुर बढेकोदेखि स्मार्ट सिटी भनेको के हो भन्नेसम्मका प्रश्न हेलो मुख्यमन्त्रीमा आएका छन् । सोमबार रामबजारकी एक महिलाले टेलिफोनमा मुख्यमन्त्रीलाई भनिन्, ‘लमजुङ समाज घर’मा हुने हल्लाले सुत्न पाइएन, हजुरले केही गरिदिनुपर्‍यो । अनि पोखरामा जताततै कुकुर नै कुकुर भरिए, हटाउने उपाय के होला रु’

मुख्यमन्त्री गुरुङले यसबारे लमजुङ समाजलाई भन्ने र पोखराबाट भुस्याहा कुकुर हटाउने आश्वासन दिए ।

निर्मलपोखरीबाट नारायण थापाले मुख्यमन्त्रीलाई सोधे, ‘प्रदेश सरकार बनेको छ । अब गण्डकीका ११ जिल्लाका बेरोजगार युवाले काम पाउँछन् त ?

मुख्यमन्त्री गुरुङको उत्तर थियो, ‘बेरोजगार युवालाई प्राविधिक तालिम दिन्छौं । शैक्षिक प्रमाणपत्र छ तर सीप छैन भने तालिम पछि स्वरोजगारमा जान्छन्, विदेश जानेलाई पनि राम्रो हुन्छ ।

अर्का एक व्यक्तिले ‘स्मार्ट सिटी भनेर प्रचार गरिएको पोखरा किन त्यस्तो भएन रु’ भनेर सोध्दा मुख्यमन्त्री गुरुङले ‘स्मार्ट सिटीको बुझाइ नै गलत हुने गरेको’ बताए । ‘यत्तिकै स्मार्ट सिटी बन्दैन’, उनले भने, ‘स्मार्ट सिटीमा धेरै कुरा स्मार्ट हुनुपर्छ ।

हेलो मुख्यमन्त्रीमा अहिलेसम्म आएका ३०६ गुनासामध्ये १३२ वटाको हल भएको छैन । ती गुनासाहरु केन्द्र सरकारसँग सम्बन्धित रहेको मन्त्रिपरिषदको कार्यालयका अधिकृत प्रेम श्रेष्ठले बताए । टेलिफोन र इमेलबाट गुनासाहरु टिप्ने व्यवस्था गरिएको छ । हरेक १५ दिनमा मुख्यमन्त्रीले नै टेलिफोनबाट गुनासाहरु सुन्ने गरेका छन् ।
‘हेलो मुख्यमन्त्री’ विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुन्छ ।