शुक्रबार, बैशाख १४, २०८१

स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको यातायात विभागको निश्कर्ष

काठमाडौं,२ माघ । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ ।

कम्पनीले करिब ४ लाख कार्ड छापेपछि विभाग अब आफ्नै मेसिनमार्फत कार्ड छाप्ने योजना बनाउँदैछ । विभागमा महानिर्देशक लावण्य ढकाल एकपटक म्याद थप्दा मालिकाले ३ लाख ६० हजार भन्दा बढी कार्ड छापेको बताउँछन् ।
हामीले उसलाई हटाउने कि फेरि थप कार्ड छपाइ दिने भनेर निर्णय गरिसकेककेा छैनौं,’ उनले भने,’अब हामीसँग रहेको कार्ड उसले छापेको कार्ड र छाप्न बाँकी लाइसेन्सको संख्या हेरेर आवश्यक निर्णय लिन्छौं ।

ढकालले मालिकामर्फत भएको छपाइको काम सोचेअनुरुपको गुणस्तरीय नभएको स्वीकारे । तर, लाइसेन्सको अभाव टार्ने विकल्प सरकारसँग नभएकाले यसले पनि राहत नै दिने उनको भनाइ छ ।
हाम्रो छपा जस्तो गुणस्तरीय नभएपनि ५ वर्षसम्म त्यो कार्ड टिक्छ,’ उनले भने ।
ठूलो तामझामका साथ ल्याइएको स्मार्ट लाइसेन्समाथि सुरुदेखि नै प्रश्न उठेको थियो । नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको हातमा पुगेको खुलेपछि सर्वोच्च अदालतले त्यसलाई सच्याउन आदेश दिएको थियो ।

यसै पनि स्मार्ट लाइसेन्सको गुणस्तर पनि कमजोर छ । यसका बाबजुद अर्को लाइसेन्स नआएकाले सेवाग्राही त्यही लाइसेन्स लिन बाध्य छन् । त्यो पनि समयमै पाइँदैन । हाल ४ लाख बढी सेवाग्राही लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्स नवीकरण वा प्राप्तिको सबै प्रक्रिया पूरा गरेको एक वर्षमा पनि हात पर्न मुस्किल छ ।
अब मालिकाले प्रिन्ट गरेको ‘स्मार्ट लाइसेन्स’लाई प्लास्टिकको लेमिनेशन गरेर बाँडिँदैछ । मालिकाले यसअघि जस्तो ‘लेजर प्रिन्ट’ गरेको होइन् । उसले करिब ४ लाख लाख स्मार्ट लाइसेन्स ‘थर्मल प्रिन्ट’ गरेको हो ।

थर्मल प्रिन्ट एटीएम कार्ड प्रिन्ट गरेजस्तै प्रविधि हो, जुन बाहिरबाट प्लाष्टिक कोटेड हुन्छ । लेमिनेशन नगरे अक्षरहरु छिटै मेटिने खतरा हुन्छ । सरकारले मालिकालाई सुरुको ३५ हजारमा प्रतिकार्ड १३ रुपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँ भुक्तानी गर्नेछ ।

अहिले ‘ब्याक लग’ लाइसेन्स ४ लाख बढी रहेको विभागका अधिकारीहरु बताउँछन् ।