बिहिबार, चैत १५, २०८०

सांसद श्रेष्ठले भने समृद्ध रामेछाप निर्माण गर्न सवै एकजुट हुन जरुरी

मंथली,१ माघ । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नेकपा नेतृत्वको सरकारले नै रामेछापलाई समृद्ध बनाउने बताउनुभएको छ ।

मन्थली नगरपालिका–११ गेलुको सावाडाँडामा निर्माण भएको शारदा माविको चार कोठे पक्की भवनको उदघाटन गर्दै सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउदै समृद्धिको सपना साकार पार्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको हो ।

रामेछाप जिल्लाको विकास निर्माणको प्रक्रियालाई अगाडि बढाउन आफू लागि परेको बताउदै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम हुने दावी गर्नुभयो । उहाँले जिल्लाका मुख्य सडकलाई कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको बताउदै, स्वास्थ्य शिक्षा, खानेपानी लगायतको जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

शारदा माविको चार कोठे पक्की भवनको उदघाटन गर्दै सांसद श्रेष्ठले विद्यालयको भौतिक संरचना निर्माणसँगै शिक्षाको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व सभासद एवं नेकपाका नेता तारानारायण श्रेष्ठले शिक्षा क्षेत्रमा राज्यले थप लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको उपलब्धतासँगै गुणस्तरीय शिक्षा प्रदान गर्न पनि आवश्यक रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा मन्थली नगरपालिकाका उप्रप्रमुख माया कार्कीले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा नेकपा रामेछापका नेता प्रकाश कुमार कार्की,ज़िल्ला शिक्षा अधिकारी हेमन्त बुढ़ाथोकी,केशब फ़ूयाल,शिक्षकशिक्षिकाहरू लगाएको उपस्थिति थियो ।