शुक्रबार, बैशाख १४, २०८१

१८ वर्ष उमेर पुगेका युवालाई सैन्य तालिम दिन भट्टराईको प्रस्ताव

काठमाडौं । पुर्व प्रधानमन्त्री एवम नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मञ्चद्वारा आयोजित ‘नेपालको भूराजनैतिक महत्त्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक अन्तर्क्रियामा बोल्दै उहाँले सबैलाई मिलिसियाको रुपमा तयार पार्नुपर्नेमा जोड दिनुभएको हो।

सेना र हतियारका लागि गर्ने लगानी सबै नेपालीलाई सैन्य तालिम दिन खर्च गर्न सके नागरिकले नै राष्ट्रको सुरक्षा गर्ने र मुलुक पनि समृद्ध हुने संयोजक भट्टराईको भनाई छ । संयोजक भट्टराईले अन्य देशसँगको आक्रमणबाट बच्नका लागि हतियार खरिद गर्नुभन्दा सो लगानी नागरिकलाई गर्न सके मुलुकमा विकास र समृद्धिको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गर्नु भयो ।

उहाँले नेपालले कुनै पनि राष्ट्रसँग आक्रमण गर्नुभन्दा शान्ति क्षेत्र कायम राखेर अघि बढने प्रस्ताव राख्नुपर्ने पनि बताउनु भयो ।