काठमाडौं । मलेसियाबाट फर्किएका युवाहरुको संयुक्त लगानीमा काठमाडौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने भएको छ । मलेसिया रिटर्नी समाज गठन गरेका युवाले कम्पनी नै खोलेर सामूहिक लगानीमा यातायात व्यवसाय गर्ने निधो गरेका हुन् ।
मलेसियाबाट फर्किएका र मलेसियामै रहेर रोजगरी गरिरहेकाहरुको संयुक्त लगानीमा सार्वजनिक यातायात संचालन गर्न लागेका हुन ।
समाजका सदस्य विनोद बस्नेतका अनुसार पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको छ । ३ वटा ३२ सिटे बसहरु किनेर सेवाको सुरुआत गर्ने योजनसहित लगानी जुटाउन थालिएको छ ।
युवाहरुले मलेसियबाट फर्किएका र मलेसियामा रहेका कामदारको परिवारले कम्पनीमा सेयर राख्न पाउने गरी व्यवसायिक योजना बनाएका छन् । यो लगानीबाट आएकोप्रतिफल पनि सामूहिक रुपमा वितरण गर्ने र युवाहरुलाई देशभित्रै बसेर उद्योग–व्यवसाय गर्न उत्प्रेरित गर्ने योजना बनाइएको छ ।
नेपालमा विदेशबाट फर्किएका युवा संस्थामार्फत संगठित भएर ठूलो स्केलमा लगानी जुटाउन खोजेको यो नै पहिलोपटक हो । यसअघि कोरियाबाट फर्किएका केही युवाले पनि यस्तो प्रयास गरेका थिए ।
तर, मलेसिया रिटर्नी समाजले अरु सदस्य पनि थप्ने गरी अम मलेसियामा रहेका नेपालीको परिवार र त्यहाँबाट फर्किएका कामदारलाई लगानीका क्षेत्रमा समेट्न खोजेको छ ।

