बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानीको विषयमा जथाभावी नबोल्न सांसदहरुलाई आग्रह गरेका छन् ।
आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले नामांकन र राजधानीको विषय प्रदेशसभाको अधिकार भएकाले बाहिर जथाभावी नबोल्न आग्रह गरेका हुन् ।
प्रदेशसभामा पनि धेरै फैसला नसुनाउनुस्, हामीले समिति बनाएका छौं, विधिका पक्षमा उभिनुपर्छ, आफैले बनाएको कार्यदलमाथि भरोसा गर्नूस्’ उनले भने ‘तपाईहरुले (समिति सदस्यहरुले) पनि त्यो बिषयमा बाहिर बोलिरहनुपर्दैन, बाहिर धेरै बोल्ने होइन,धेरै अरुका कुरा सुन्नूस् ।
प्रदेशको राजधानी सार्ने विषयमा षड्यन्त्र भएको भन्दै प्रतिपक्षी कांग्रेसले बुटवलमा खबरदारी सभा गर्न लागेको तर्फ इंगित गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा गएर फैसला नगर्न आग्रह गरे । स्थायी राजधानीको निर्णय गर्ने थलो प्रदेशसभा भएको स्मरण गराउंदै उनले प्रदेशसभाको अधिकार क्षेत्र नमिच्न सुझाए ।
‘प्रदेशको स्थायी राजधानी खोज्नै बाँकी छ’ मुख्यमन्त्रीले भने ‘त्यो अधिकार प्रदेश सभाको हो, संघीय सांसदहरुलाई यसबारे सडकमा गएर बोल्ने अधिकार छैन ।’ जनतालाई उचाल्ने काम नगर्न आग्रह गर्दै उनले स्थायी राजधानी कहाँ हुने भन्दा पनि कस्तो बनाउने भन्ने बारेमा छलफल गर्न आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले स्थायी राजधानीबारे भेगीय हिसाबले कुनै आग्रह पूर्वाग्रह नराख्न आग्रह गर्दै सांसदहरुलाई बाहिर जथाभावी नबोल्न सचेत गराए । प्रदेशको नामांकन र राजधानी चयनका लागि प्रदेशसभाले समिति गठन गरिसकेको छ । समितिमा छुटेका जिल्लाहरु समेट्नुपर्छ भन्ने माग नाजायज हैन भन्दै मुख्यमन्त्रीले यसमा प्रतिपक्ष जिम्मेवार हुनुपर्ने बताए ।
‘स्थायी राजधानीको विषय सत्ता पक्ष र प्रतिपक्ष वा कुनै भेग विशेषको विषय होइन’ उनले भने ‘मेरो जोड त सहमतिमै गरौं, सहमतिको संस्कार बसालौं भन्नेमा छ ।
मुख्यमन्त्री पोखरेलले वाइडबडी विमान खरिद प्रकरणको छानबिनमा संघीय संसदको सार्वजनिक लेखा समितिले त्रुटी गरेको बताएका छन् । प्रदेशसभाको वैठकमा प्रतिपक्षी सांसदहरुले वाइडबडी खरिदमा अर्र्बौ रुपैयाँ अनियमितता भएको भन्दै विभागीय मन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेपछि मुख्यमन्त्रीले लेखा समितिले नै त्रुटी गरेको तर्क गरे ।
मुख्यमन्त्री पोखरेलले लेखा समितिले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै तथ्यको गहिराईमा नपुगी कसैलाई आरोपित गर्न नहुने बताए ।

