जनकपुर । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि हातपात गरेका छन् ।
उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आर्थिक मामिला तथा योजना मन्त्रालयमा हातपात गरेका हुन् ।
संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत गरिबी निवारण उद्यम कार्यक्रमका लागि गैर सरकारी संस्था (एनजीओ) छनौट प्रक्रिया विवादमा मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताएका छन् । प्रदेश २ का सभामुख सरोज यादवकै अगाडि मन्त्री यादवले आफु माथि जाईलागेको सचिव झाले सुनाए ।
प्रदेश नम्बर २ को ८ वटै जिल्लामा उद्यम क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले आह्वान गरेको सूचना बमोजिम १ सय ९३ गैरसरकारी संस्था(एनजीओ)हरुले आशय पत्र बुझाएका थिए । उक्त संस्थाहरु मध्ये ४० वटा संस्था छनोट भएका छन् ।
मन्त्रीको हातपात पश्चात सचिव झा मन्त्रालयको मूल ढोकामा धर्ना दिएपछि प्रहरीले नियन्त्रणमा लिएका छन् । सचिव झालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
सचिव झाले मन्त्रीले कुटपिट गरेर दावी गरिरहँदा मन्त्री यादवले समान्य विवाद मात्र भएको, कुटपिट नगरेको जिकिर गरेपछि यो विवाद झन उग्र बनेको छ । मन्त्री र सचिवको विवादले उक्त कार्यक्रमका लागि संस्था छनोटमा रकम चलखेल भएको आशंका उत्पन्न गरिएको छ ।
यस अघि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता पठाएका थिए ।
वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा हाजिर भएका हुन् ।

