काठमाडौं । नेपाल आएर कानुन विपरीत गतिविधि गरेको आरोपमा ८४ विदेशी नागरिकलाई देश निकाला गरिएको छ । पछिल्लो ४ महिनाको अवधिमा उनीहरुलाई निश्चित अवधिसम्म नेपाल आउन नपाउने गरी देश निकाला गरिएको हो ।
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यापारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ। अध्यागमन विभागले त्यस्तो धन्दा सञ्चालन गर्नेहरूको सर्च अभियान थालेपछि यो संख्या बढ्दो छ ।
बुधबार अध्यागमन विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ईश्वरराज पौडेलले उनीहरुलाई अनुसन्धानपछि निष्कासन गरिएको जानकारी दिए। ‘घुम्न आउने बहानामा कानुनले बर्जित गरेको गतिविधि गर्नेहरुलाई अनुसन्धानपछि कारबाही गरिएको हो’, उनले भने, ‘उनीहरुमाथि अध्यागमन ऐन अनुसार अनुसन्धान र कारबाही भएको थियो।’
कारबाहीमा पर्नेहरुमा नेपाल आएर ड्रग पार्टी गर्नेदेखि क्रिश्चियन धर्म प्रचार गर्नेहरुसम्म छन्। कतिपय नेपालमा अवैध व्यपारमा समेत संलग्न भएको जनाइएको छ। विदेशी नागरिकले व्यवसाय गर्न व्यापार भिसा नै लिनुपर्ने कानुनी ब्यवस्था छ। देश निकाला गरिनेमा जापान, अस्ट्रेलिया, चीन लगायत देशका नागरिक छन्।
अध्यागमन विभागका अनुसार नेपाल आएका विदेशी नागरिकले झुठा विवरण, जाली राहदानी वा भिसा प्रयोग गर्न पाउँदैनन्। त्यस्तै, प्रचलित कानुन विपरीतका गतिविधि गरेको खण्डमा पनि अपराधको तहकिकात र कारबाही पूरा गरी सरकारको स्वीकृतिमा देश निकाला गर्न सक्छ।
विभागले आर्थिक वर्ष २०७४–७५ मा गलत काम गर्ने ६२२ जना विदेशीलाई निकाला गरेको थियो।

