मङ्गलबार, बैशाख ०४, २०८१

प्रदेश सांसद् पहारीद्वारा आफ्नो सम्पूर्ण तलब सामाजिक कार्यमा

पोखरा । गण्डकी प्रदेश सभा सांसद तथा युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजिव पहारीले आफ्नो सम्पूर्ण तलव भत्ता सामाजिक कार्यमा खर्च गर्ने उद्घोष गर्नुभएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै सांसद पहारीले सरकारी विद्यालयमा आधुनिकता भित्रनेगरी पूर्वाधार भएपनि स्वच्छ पिउने पानीको अभावमा विद्यार्थीहरु बिरामी पर्ने अवस्थाको अन्त्यका लागि आफूले युरोगार्ड प्रदान गरेको बताउनुभयो ।
आफु प्रदेश सांसद भए वापत ११ महिनाको तलव सामाजिक कार्यमा खर्चिएको जानकारी गराउँदै आफूले राज्यबाट सांसदबाट पाउने सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरेको विवरण सार्वजनिक गर्नुभएको हो ।
कास्की निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं ख बाट निर्वाचित सांसद पहारीले ११ महिनामा आफूले सांसद बापत प्राप्त गर्ने मध्ये प्रशासनिक खर्च कटाएर ४ लाख ५० हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको जानकारी गराउनुभयो ।
सांसद पहारीले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाईपको लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई ८० हजार, वलात्कारपछी हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजार मूल्य बराबरको युरोगार्ड, फेवाताल संरक्षणका लागि वडा विकास समितिलाई ८० हजार र विभिन्न आमा समूहलाई ४० हजार सहयोग गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा सांसद पहारीले सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सृजना सामुदायीक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशिल मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्वन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गर्नुभयो ।