रौतहट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रविधिको अभावमा नेपाल प्रहरीलाई काम गर्न गाह्रो भएको बताएका छन् । रौतहटको गौरमा सीसी क्यामेराको उद्घाटन गर्दै उनले अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभावमा कठिन भएको बताएका हुन् ।
अपराधीले प्रविधिको प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्ने महानिरीक्षक खनालले बताए । प्रहरीले समुदायसँग मिलेर शान्ति सुव्यवस्था कायम गर्न अघि बढिरहेको भन्दै उनले आचरण विपरीत कार्य गर्नेहरु प्रहरी संगठनमा अट्न नसक्ने बताए ।
केही प्रहरी कर्मचारीको बदमासीका कारण सिङ्गो संगठनलाई बदनाम हुन नदिन त्यस्ता खराब कर्मचारीलाई हटाउने कार्य पनि भएको उनले बताए ।
नराम्रो गर्नेहरु प्रहरीमै नरहने भन्दै महानिरीक्षक खनालले नागरिकको जीउधन र सुरक्षाका लागि खटने प्रहरी नराम्रो हुन नहुने बताए ।

