शुक्रबार, बैशाख ०७, २०८१

जनताको कामले छोरा खेलाउन फुर्सद छैन : मन्त्री बीना मगर

काठमाडौँ । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।

कार्यकक्षमा रहेका एक आगन्तुकले ‘मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…’ भनेपछि मन्त्री मगर छोरा समात्न पुगिन् । ‘कति चकचक गरेको ? यता आउनुस्’ भन्दै मगरले प्रणवलाई बोक्न खोजिन् तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर जाने गर्छिन् ।

मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दैखेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे । केहीबेरपछि कतै कार्यक्रममा बाहिर निस्कनुपर्ने जानकारी सचिवालयका कर्मचारीले दिइरहेका थिए । मन्त्री मगरले झोलाबाट छोराको स्वीटर निकालिन् ।

पाइट छाम्दा पिसाब गरेर भिजाइएको देखेपछि त्यो पनि फेरिदिन् । ‘ल हेर त कतिखेर सुसु गर्नुभएछ…’ भन्दै छोरालाई कपडा फेर्न लाग्दा उनको कार्यकक्षमा पुगेका रासस प्रतिनिधिसँग मन्त्री मगरले भनिन्, ‘आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न । बहिनीहरुले सघाउँछन् ।’

आमाको भूमिका पूर्ण पालना गर्न नपाएको अनुभूतिसहित उनले भनिन्, ‘म प्रायः बिहान चाँडै निस्कन्छु, छोरा सुतिरहेको हुन्छ । बेलुकी अबेर घरमा पुग्छु, ऊ सुतिसकेको हुन्छ ।’ छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति वियोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गरिन् ।
‘त्यसबेला मलाई कम्ता गाह्रो भएन, छोरा अझ सानो थियो’ यति भनेर उनी रोकिइन् । एकछिनपछि प्रसङ्ग बदलेर मेलम्ची खानेपानी आयोजनाको कुरा गरियो । यही साता इटालियन कम्पनीसँग हुने औपचारिक वार्तापछि रोकिएको मेलम्चीको काम अघि बढ्ने उनले सुनाइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बुहारीसमेत रहेकी मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमा बस्दै आएकी छन् ।