शनिबार, बैशाख ०८, २०८१

वाइडवडी प्रकरणमा दोषी उम्कन पाउदैंन छानविन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल बायु सेवा निगमको वाइडवडी प्रकरणमा सरकारले उच्चस्तरिय आयोग बनाए छानविन गर्ने भएको छ । संसदीय समिति र विपक्षी दलले पनि छानविनको विषय उठाएपछि सरकारले करिव पाँच अर्ब घोटला भएको भनि ठानिएको वाइडवडी खरिद प्रकरणको छानविन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छानविनको प्रक्रिया अगाडी बढाउन लागेको जानकारी दिनु भएको छ । उहाले विपक्षी दलले पनि माग गरेको विषय भएकाले यसलाई उच्चस्तरिय छानविन बनाएर जाने कि के गरेर जाने भन्ने बारेमा कुरा भईरहेको बताउनु भयो । जनतासंग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले सो प्रकरणमा भष्ट्रचार भएको रहेछ भने जो कोहीलाई पनि कारवाही गरिने स्पष्ट पार्नुभयो । ‘वाइडवडीको सम्बन्धमा गम्भिर छानविन हुन्छ, दोषीमाथी कारवाही हुन्छ, कोही पनि उम्किन हुदैन, कोही पनि ।

प्रधानमन्त्री ओलीले यसविषयमा संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि छानविन गर्न माग गर्नुभएको छ । ‘संसदीय समितिले छानविन गरोस्, संसदले छानविन गरोस्, उच्चस्तरमा संसदले अझ केही गर्नु छ भने गरोस्’, उहाले अगाडी भन्नुभयो,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई म भन्न चाहान्छु, उहाहरुले गर्नुहोस्, सरकारको तर्फबाट सरकारले गराउछ । आवश्यक छानविन उच्चस्तरबाट । यसमा ढुक्क रहन आग्रह गर्दछु । भष्ट्रचारबाट कसैलाई उम्कन दिइदैन, छानविन हुन्छ, दोषीलाई कारवाही हुन्छ, दोषी जो भए पनि कारवाही हुन्छ । जो भएपनि हुन्छ ।

यद्यपी प्रधानमन्त्री ओलीले लेखा समितिको उपसमितिले प्रतिवेदन निर्माण सक्नु अगावै सचारमाध्यमलाई प्रतिवेदन वितरण गरेकोमा भने असन्तोष प्रकट गर्नुभएको छ । उहाले प्रतिवेदन सार्वजनिक गर्ने पनि नीति नियम हुने भन्दै सहि तरिकाबाट प्रतिवेदन सार्वजनिक गर्न पनि आग्रह गर्नुभयो । विधि र शासनको पद्धतिमा रहेर काम गर्न उपसमितिलाई आग्रह समेत गर्नुभयो ।