शुक्रबार, बैशाख १८, २०८३

अन्तरराष्ट्रिय अनुसन्धानकर्तालाई बोलाएर निर्मलाको हत्यारा पत्ता लगाउछु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वचन दिएका छन् । प्रधानमन्त्री ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन् ।

‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको छ,’ नेकपा नेता योगेश भट्टराईले अनलाइनखबरसँगको विशेष कुराकानीमा भने, ‘आवश्यक प¥यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँछु भन्नुभएको छ ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि जनस्तरबाट आलोचना भइरहेको छ ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिए ।

यसैवीच सरकारले अब वाइडबडी विमान खरिद प्रकरणमा पनि छानविन कमिटी बनाउने भएको छ । छानविन कमिटी गठनसँगै विमान खरिद कार्यमा संलग्न वायुसेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतका कतिपय सरकारी अधिकारीहरु निलम्बनमा पर्न सक्ने देखिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिद प्रकरणमा अनियमितता भएको ठोकुवा गरिसकेको अवस्थामा अहिले संसदीय समितिले यसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् ।