काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेता नमान्ने घोषणा गरेका छन् ।
दुबै नेतामा नेतृत्व गर्ने क्षमता नदेखिएको भन्दै सिटौलाले नेता नमान्ने घोषणा गरेका हुन् ।
विहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेता सिटौलाले सभापति देउवा र नेता पौडेलमा नेता बन्ने क्वालिटी नै नभएको जिकिर गरे । भने, ‘देउवा र पौडेल दुवैमा नेतृत्व गर्ने क्षमता देखिएन, त्यसकारण म उहाँहरूलाई नेता मान्न सक्दिनँ । उहाँहरूमा नेता बन्ने क्वालिटी नै छैन ।’ सिटौलाले पत्रकार सम्मेलन केन्द्रीय सदस्य गगन थापा र उमाकान्त चौधरी दयाँवायाँ राखेर गरेका थिए ।
सिटौलाले पार्टी झन् कमजोर भइरहेको भन्दै सिटौलाले आगामी जेठभित्र महाधिवेशन गर्न माग नेतृत्वसँग माग गरे । भने, ‘आगामी चैत महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न म नेतृत्वलाई आग्रह गर्छु । यदि महाधिवेशन गर्न सकिँदैन भने संक्रमणकालीन प्रवन्धका आधारमा भएपनि नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’
यदि प्रक्रिया सुरु नगर्ने हो भने चैतमा विधानमा भएको संक्रमणकालिन अवस्था अनुरुप १४ औँ महाधिवेशनसम्मका लागि कार्य्विधी बनाएर अघि बढ्नुपर्ने नेता सिटौलाले बताए ।

