काठमाडौं । सरकारले विभिन्न ५ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । सिफारिस गरिएका राजदूतमा सबै परराष्ट्र मन्त्रालयका कर्मचारीहरु रहेका छन् ।
पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
त्यस्तै सरकारले बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसैगरी सरकारले आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ। काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ ।

