शनिबार, बैशाख ०८, २०८१

उर्जा क्षेत्रको सकारात्मक सफलता हासिल : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपालको उर्जा क्षेत्रमा सकारात्मक परिवर्तन आउने गरी भारतको सीमापार विद्युत् व्यापार (आयात–निर्यात) निर्देशिका परिमार्जन भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुशी देखिएका छन् ।

निर्देशिकामा यसअघि ५१ प्रतिशत भारतीय लगानीका विद्युत् गृहको बिजुली मात्रै किन्ने भनेर रहेका व्यवस्था हटाउँदै लगानी नभएका विद्युत् गृहबाट पनि बिजुली किन्ने व्यवस्था गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को निरन्तर प्रयासपछि भारतले निर्देशिका परिमार्जन गरेको हो ।
यसअघिका सरकार र मन्त्रीले समेत निर्देशिका परिमार्जनका लागि पहल गर्दै आएका थिए । बुधबारको संसद बैठकमा भारतले निर्देशिका परिमार्जन गरेको सन्दर्भ कोट्याउँदै अध्यक्ष प्रचण्डले यसलाई ठूलो उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।
‘अहिलेको बलियो सरकार, स्थिरताको वातावरण र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीनको भ्रमणले सकारात्मक परिदृश्य देखा परेको छ । यसलाई केही पनि होइन भनेर सोच्नु राष्ट्रको हितमा हुने छैन,’प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो दिन बुधबार संसदमा बोल्दै प्रचण्डले भने, ‘केही महत्वपूर्ण उपलब्धीहरू पैदा भएका छन् ।
संसदमा दुईतिहाई बहुमत प्राप्त सरकार बनेपछि भारत र चीनसँग थुप्रै नयाँ सम्झौता भएका र पुराना सम्झौता कार्यान्वयनमा गएका अध्यक्ष प्रचण्डले सम्झिए ।
‘यो सदनमा आइपुग्दा पहिलेका कतिपय हाम्रो राष्ट्रिय हितसँग मेल खाएनन् कि भन्ने निर्णयहरू सच्चिँदै गएका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘उर्जा क्षेत्रमा जलविद्युत्को बजारको जुन समस्या देखिएको थियो, भारतको सोच र मान्यता बाहिर आएको थियो, ५१ प्रतिशतभन्दा बढी भारतीय लगानीमा उत्पादित विद्युत मात्रै भारतीय बजारमा खपत हुन्थ्यो । अब विश्वका जुनसुकै कम्पनी र नेपालले उत्पादन गरेको विद्युत् भारत, भारतको बाटो हुँदै बंगलादेश जतासुकै पनि लैजान सकिने भएको छ ।
भारतले निर्देशिका परिमार्जन गरेसँगै नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ । आफ्नो लगानीमा बनेका आयोजनाको बिजुली मात्रै किन्ने प्रावधान यसअघि निर्देशिकामा समावेश थियो ।

नेपाली पक्षले भारतलाई निर्देशिकाको प्रावधान परिमार्जन गर्ने आग्रह गर्दै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा समेत यो विषय उठेको थियो ।
पछिल्लो पटक उर्जामन्त्री पुनले भारतीय पक्षसँग औपचारिक बैठक र अनौपचारिक छलफलमा निर्देशिकाका प्रावधान परिमार्जनको विषय उठाउँदै आएका थिए । नेपाल–भारतको सचिव, सहसचिव स्तरीय बैठकमा समेत निर्देशिका परिमार्जनको विषयमा छलफल हुने गरेको थियो ।
भारतको उर्जा मन्त्रालयले ५ डिसेम्बर २०१६ मा पुरानो निर्देशिका जारी गरेको थियो भने १८ डिसेम्बर २०१८ मा परिमार्जन गरेको छ । परिमार्जित निर्देशिकामा सीमापार विद्युत् व्यापार गर्न भारतको लगानी ५० प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्थालाई हटाएको छ ।
निर्देशिकामा विद्युतलाई रणनीतिक वस्तुको परिभाषाबाट हटाएको तथा त्रिपक्षीय सम्झौताअनुसार हुने विद्युत् व्यापारको लागि एक देशले अर्को देशमा विद्युत् व्यापार गर्दा भारतीय भूमिको माध्यम उपयोग गर्ने र विकल्पको व्यवस्था गरिएको छ ।

विकल्पहरूमा भारत सरकारको स्वीकृतिमा भारतीय प्रशारण संरचना प्रयोग गर्न सकिने र भारत सरकारको स्वीकृतिमा भारतको भूमिमार्फत् दुई देशको बिचमा सिधै प्रशारण लाइन पनि बनाउन सकिने रहेका छन् ।
नेकपाको सरकार बनेको थोरै समयमै उपलब्धी देखिन थालेको बताउँदै प्रचण्डले पाँच वर्षभित्रै धेरै उपलब्धी प्राप्त हुने बताए । उनले चीन र भारततिर विश्वको शक्ति केन्द्रीत भइरहेको बताउँदै छिमेकसँग सन्तुलित सम्बन्ध राखेर नेपालले फाइदा लिनुपर्ने बताए ।
‘चीन–भारत शक्ति केन्द्रको रुपमा अगाडि आउने सम्भावना देखिँदैछ,’ उनले भने, ‘यसले छिमेकमा राजनीतिक उतारचढाव ल्याउन सक्छ, निकै ठूलो कुरा हुन सक्छ । हामी विशाल छिमेकीको बीचमा छौं, भूराजनीतिक अवस्थितिले एकातिर नयाँ–नयाँ अवसर ल्याउने र लाभान्वित हुने सम्भावना पनि बढ्दै जान्छन्, अर्काेतिर नयाँ–नयाँ चुनौती र अप्ठ्यारा आउन सक्नेतिर गम्भीर रुपमा चिन्तन मनन गर्दै आफूलाई तयार राख्नुपर्छ ।

छिमेकीसँग सन्तुलनकारी सम्बन्ध राख्दै आन्तरिक हितलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष प्रचण्डले बताए ।