शुक्रबार, बैशाख १८, २०८३

बेलायतमा ४३औं राष्ट्रिय मेलमिलाप दिवसको भव्य तयारी,नेता नगेन्द्र कुमालले सम्बोधन गर्ने

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)ले ४३औं राष्ट्रिय मेलमिलाप दिवसको तयारी गरिरहेको छ । आगामी डिसेम्बर ३० मा अल्डरशटको भेटघाटमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका पूर्व अध्यक्ष नगेन्द्रकुमार कुमालको प्रमुख अतिथि रहनुहुनेछ ।

कांग्रेस नेता कुमाल संबिधान सभाका पूर्व सभासद र नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ । नेता कुमाल डिसेम्बर २७ को दिन बेलायत पुग्नुहुने योजना छ ।

एनपीसीसी यूकेका सभापति युवराज गुरुङ्ले बेलायतस्थित नेपाली कांग्रेसका नेताहरु र प्रजातन्त्रमा आस्था राख्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता स्व । बीपी कोइराला भारतमा आठ बर्ष लामो निर्वासनपछि २०३३ मा नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर सत्ता हातमा लिएपछि बीपी भारतमा निर्वासित थिए । तत्कालीन अवस्थामा भारतमा पनि संकटकाल लागेको अवस्थामा नेपालको राष्ट्रियताको खतरामा परेको र प्रजातन्त्र पुनर्स्थापनाका लागि तत्कालीन अवस्थामा राजासंग मेलमिलाप जरुरी भएको बिश्लेषण गर्दै २०३३ साल पौष १६ गते गणेशमान सिंह लगायतका सहकर्मीहरु सहित बीपी मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

कार्यक्रमको भव्य तयारी रहेको नेपाली जनसम्पर्क समिति बेलायतका प्रवक्ता ख़ुशी लिम्बूले बताउनु भयो ।