शुक्रबार, बैशाख १८, २०८३

खाँडा गाउँमा आगलागीवाट ८७ घर जलेर नष्ट ,राहत संकलन हुँदै

कालिकोट । जिल्लाको पलाँता गाँउपालिकाको खाँडा गाउँमा गएरातीदेखि लागेको आगो डुलो क्षति वेहोर्नु परेको छ । भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन् ।
आइतवार राती लागेको आगोले गाउँ नै नष्ट बनाएको छ । सोमवार दिउँसो नियन्त्रणमा आएको प्रहरीले बताएको छ। पानीको निकै अभाव हुने खाँडामा आगो नियन्त्रणमा लिन निकै कठिन भएको थियो । आगलागीका कारण स्थानीयका गोठमा बाँधिएका गाई, भैंसी र बाख्रा समेत मरेका छन् भने गाउँका ५ सय ४० जना स्थानीय खुला आकासमा बास बस्न बाध्य भएका छन् ।

आगलागीमा झण्डै ३ करोड बढीको धनमाल क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ। पुरानै परम्परागत शैलीले बनाएका घरहरु सुख्खा खरले छाएका थिए। खाँडा गाउँमा खरको छाना भएका १७९ घर रहेका छन्। नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर सखाप बनाएको हो ।

प्रदेश सरकाबाट उद्धार र राहत सामाग्री संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रजिअ कार्कीले बताए।

आगलागीमा परी घाइते हुनेमा ७० वर्षीया चन्द्ररुपा संज्याल, ७० वर्षका देवराज हमाल, ३५ वर्षका विष्णुऋषि न्यौपाने, ५८ वर्षका कर्णप्रसाद न्यौपाने, १० वर्षका करिस्मा न्यौपाने र ९ वर्षका एक बालक रहेका छन्। प्रहरीले जनाए अनुसार चन्द्ररुपा संज्याल गम्भीर घाइते भएकी छन्।

खाँडा गाउँ नै जलेपछि सहयोगी हातहरु जुट्न थालेका छन्। सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका अध्यक्ष डम्वरबहादुर शाहीले गाउँपालिकाबाट २ लाख नगद सहयोग गरेका छन्। पीडित परिवारको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष शाहीले राहत स्वरुप रकम सहयोग गरेको बताए ।

आगलागी पीडितहरुलाई राहत लिएर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पलाता गाउँपालिका-१, खाडा गाउँस्थित न्यौपानेबस्तीमा पुगेका छन् ।

मुख्यमन्त्री शाही, कालीकोटका प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत लगायतको टोली सुर्खेतबाट राहत लिएर कालीकोटको आगलागी भएको न्यौपानेबस्तीमा पुगेका हुन् । प्रदेश सरकारले पहिलो चरणमा अत्यावश्यक सामानहरुसहित प्रतिपरिवार २० हजारका दरले नगद राहत वितरण गर्ने घोषणा गरेको थियो ।