काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न अनुरोध गरेका छन् ।
यसअघि गत मंगलबारको स्थायी कमिटी बैठकमा पनि दिगम्बरको नियुक्तिमा नेता योगेश भट्टराईले प्रश्न उठाएका थिए ।
नेकपाका नेताहरुले सरकारको कार्यशैलीले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरुले यसलाई जारी स्थायी कमिटीको बैठकमा छलफलको विषय बनाउन मागसमेत गरेका छन् ।

