शनिबार, बैशाख ०८, २०८१

नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगियो

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन्, जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन् ।

शीर्षनेताहरुबीच भएको सहमतिलाई शुक्रबार नै केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ । भोलि नै महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कांग्रेसमा अब सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् । प्रवक्ता भने पदाधिकारीबाटै वा केन्द्रीय सदस्यलाई मनोनित गर्न सकिनेछ ।

यसअघि सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष थिए, जसमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुन्थे भने बाँकी सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिले अनुमोदन गरिन्थ्यो ।

शुक्रबार बिहान ७ सहमहामन्त्रीमा सहमति जुट्यो । तर, पिछडिएको क्षेत्र छुटेको भन्दै पार्टीभित्रै विरोध भएपछि ८ जना हुने गरी अन्तिम टुंगो लागेको हो । महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एकएक सहमहामन्त्री निर्वाचित हुनेछन् ।

संविधानअनुसार ८ वटा क्लस्टरबाट सहमहामन्त्री चुनिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अनुसार केन्द्रीय कार्यसमितिको आकार पनि बढेको छ । अब १७१ सदस्यीय हुनेछ । यसअघि १६१ मा सहमति भएको थियो ।