शुक्रबार, बैशाख १८, २०८३

काठमाडौंका होटल तथा गेष्ट हाउसबाट ५० युवायुवती पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौंका होटल तथा गेष्टहाउसमा नियमित रुपमा छापा हान्न हान्न थालेको छ। शनिबार र आइतबार ६४ वटा होटल तथा गेष्ट हाउसमा छापा हानेको छ। ५० शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

होटल तथा गेष्ट हाउसमा अपराधिक गतिविधि हुने गुनासोको आधारमा छापा हान्ने अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।

प्रहरीले शनिबार सुन्धारा र आइतबार कोटेश्वर क्षेत्रका होटलहरुमा छापा हानेको हो। नगर प्रहरीबाट समेत प्रहरी खटाएर छापा हानिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासो होटलहरुको बारेमा आएपछि छापा हान्न थालिएको एसएसपी पोखरेलको भनाई छ।

सस्तो लोकप्रियताका लागि प्रहरीले होटलमा छापा हानेको र यसले व्यक्तिगत गोपनियता हनन गरेको कतिपयको आरोप छ। काठमाडौंका सबै होटलहरुमा नियमित रुपमा छापा हान्ने प्रहरीको तयारी छ ।