शनिबार, बैशाख ०८, २०८१

मेलम्चीको समस्या संयमित भएर हल गर्छौ : मन्त्री बिना मगर

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा आएको समस्या मन्त्रालयले संयमित भएर हल गर्ने खानेपानी मन्त्री बिना मगरले बताएकी छिन् । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको समाधानमा विशेष ध्यान दिने बताएकी हुन् तर यो आयोजनाकै कारण अन्य आयोजनालाई भने असर नगर्ने उनको भनाइ थियो ।

बैठकमा अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले बजेटको पुँजीगत खर्च बढाउन मन्त्रालयलाई आग्रह गरे। उनले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारेका छन्।vउनले भने, ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन। मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौं उपत्यकाको सल्लाघारी, धोबीघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताए। उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।
खानेपानी मन्त्रालयको सभाहलमा आयोजित बैठकमा खानेपानी मन्त्री मगरले देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्‍याउन मन्त्रालयले ठोस कार्यक्रमहरु तिब्रताका साथ अघि बढाउने बताइन्।

तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको व्यवस्था गर्न तत्काल जुट्नु पर्ने मन्त्री मगरको भनाइ छ। खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरुसहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएकी छन् ।
बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल दासले खानेपानीको पहुँच नपुगेका देशैभरिका नगरपालिका, गाउँपालिका, वडा तथा टोलहरुको पहिचान गरी तथ्यांक संकलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी गराए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले वाटर एटीएम जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिए। उनले काठमाडौं उपत्यकामा सञ्चालित ट्यांकरहरु मध्ये हालसम्म ६ सय २० वटा ट्यांकरलाई स्टिकर प्रदान गरिएको बताए ।