शुक्रबार, बैशाख ०७, २०८१

ओलीलाई वामदेवको प्रश्न,‘तपाईलाई मजाक गर्न सुहाउँछ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठकमा नेता वामदेव गौतम आक्रमक रुपमा प्रस्तुत भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रमक रुपमा प्रस्तुत नेता गौतमले सरकार र पार्टी नेतृत्वको तिव्र आलोचना गरेका हुन् ।

सोमबार काठमाडाैंको धुम्बाराही पार्टी कार्यालयमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौ, रासस
सोमबार पार्टी मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकमा नेता गौतमले आफ्नो फरक प्रतिवेदनको औचित्य पुष्टि गर्दै बाध्य भएर आफूले प्रतिवेदन ल्याउनु परेको बताएका हुन् । शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए तर, नेता गौतमले बेग्लै १६ पृष्ठ लामो बेग्लै प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेता गौतमले आफ्नो प्रतिवेदनमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्नुपर्ने उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा लेखेका छन्, ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकुलता भएको पाइएन । तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार संचालन गर्ने तर्फ नै ध्यान बढि दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी संचालन गर्नेतर्फ ध्यान बढि दिने व्यवस्था गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने ।’

यही बिषयलाई लिएर आइतबार तत्कालीन एमाले र माओवादीसम्वद्ध कानुन व्यवसायीहरुको एकता कार्यक्रममा प्रधानमन्त्री ओलीले मिलेमा दुईवटा प्रधानमन्त्री बनाउने बताएका थिए । भनेका थिए, ‘म भन्दिन चाहन्छु, नेपालमा अचम्म हुन्छ । दुइटा अध्यक्षको अभ्यास हेर्नुस् कसरी अगाडि बढ्छ । संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री पनि बनाउन हुन्थ्यो ।

आइतबार प्रधानमन्त्रीले बोलेको बिषयलाई लिएर नेता गौतमले प्रधानमन्त्री ओलीको तिव्र आलोचना गरेका थिए । पार्टी बैठकमा उठेको कुरालाई सार्वजनिक रुपमा मजाकको विषय बनाएको भन्दै आपत्ती जनाए । भने ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गर्न सुहाउँछ ? मिल्ने भए प्रधानमन्त्री पनि दुबै जना हुने थियौं भनेर मजाक गर्ने ? दुई तिहाई छँदैछ तपाईसँग, संविधान संशोधन गर्नुस न । बनाउनुस् दुवैजना प्रधानमन्त्री ।’

आफूलाई बदनाम गर्न पार्टी भित्रकै मान्छेहरु लागेको पनि उनले बैठकमा बताए । भने, ‘काठमाडौँ–७ बाट मैले उपनिर्वाचन लड्ने कुरालाई निकै गलत ढंगले प्रचार गरियो, म विरुद्ध पार्टी भित्रकै साथीहरु लागे, मलाई लखेट्नसम्म लखेटियो । त्यसैले, मैले आफ्नो कुरा राख्नै पर्ने भयो। र, मैले फरक विचार प्रस्तुत गरेको हुँ ।