बुधबार, बैशाख १९, २०८१

कांग्रेसमा पदाधिकारी बढाउने सहमति,विधानको विवाद टुंग्याउन पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका लागि विधान बाहेकका प्रतिवेदन पारित गरेको छ । विधान मस्यौदाको प्रतिवेदन पारित गर्न कार्यदल गठन गरेको छ ।

शुक्रबार राति अबेरसम्म बसेको केन्द्रीय समितिको बैठकले विधान मस्यौदा बाहेकका प्रस्ताव पारित गरेको हो। विधान मस्यौदामा सहमति जुटाउन कार्यदल बनाएको छ । विधान मस्यौदाका विषयमा सहमति जुटाउन नसकेपछि महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदल बनाएको हो । कार्यदलले शनिबार महासमिति बैठकको बन्दसत्रमा पेश गर्ने गरी सहमति जुटाउने जिम्मेवारी पाएको छ ।

शुक्रबारको बैठकमा उपसभापति बिमलेन्द्र निधीले पेश गरेको राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले पेश गरेको सांगठनिक आर्थिक नीतिसम्बन्धी प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रस्ताव पारित गरेको हो । सहमहामन्त्री प्रकाशशरण महतले प्रस्ताव गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघिको बैठकमै पारित भइसकेको छ ।

पदाधिकारी बढाउने विषयमा कांग्रेसमा सहमति जुटिसके पनि कुन–कुन पद बढाउने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको छ । उपसभापति र सहमहामन्त्री बढाउन सक्ने अनुमान गरिएको छ । केन्द्रीय सदस्यको संख्या १ सय ४१ रहने सहमती जुटिसकेको छ । यस्तै सदस्यता दुई प्रकारकै रहने भएपनि अब क्रियाशील सदस्य र नेपाली कांग्रेसका सदस्य भनिने छ ।

बैठकले उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार सो पार्टीका २०० जनालाई महासमिति सदस्य र १५० जना पर्यवेक्षक दिने निर्णयसमेत गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

बैठकमा सभापति शेरबहादुर देउवाले विधान संशोधनमा देखिएको विवाद सहमतिका साथ टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महासमिति बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।